होमपेज / समाज
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार बिहान थप ४७ जनामा कोरोना देखिए संगै गण्डकी प्रदेशमा कुल संक्रमितहरूको संख्या २ सय ९४ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा बिनोद बिन्दु शर्माले बिहीबार बिहान पहिलो पटक जारी गरेको विज्ञप्तिमा ४ जिल्लाका ४२ जनामा संक्रमण भएको पुष्टि गरेका छन् ।
जसमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकाका १७ जनामा संक्रमणको पुष्टि भएको छ । तनहुँमा १२ जनामा संक्रमण रहेको पुष्टि भएको छ । यस्तै गोरखामा ११ जना थप भएका छन् । ११ जिल्लाहरू रहेको गण्डकी प्रदेशमा हालसम्म हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ कोरोना संक्रमणबाट जोगिँदै आएकोमा मनाङमा भने पहिलो पटक संक्रमणको पुष्टि भएको छ ।
डा बिनोदबिन्दु शर्माका अनुसार कपिलवस्तुको बाढगंगा घर भएका ५७ वर्षीय एक पुरुष कर्मचारी चामे गाउँपालिकामा कार्यरत छन् । उनमा नै संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले बिहीबार नै जारी गरेको दोस्रो विज्ञप्तिमा पर्वत जिल्लाका थप ५ जनामा संक्रमणको पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणबाट यो पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बिहीबार थप भएका ४७ जनामध्ये ४६ जना भारतबाट फर्किएकाहरू हुन भने मनाङमा कार्यरत कपिलवस्तुका कर्मचारीलाई आन्तरिक रूपमा नै संक्रमणको पुष्टि भएको जानकारी दिएको छ ।