होमपेज / समाज
काठमाडौँ । काठमाडौँ प्रवेश गर्न चाहानेहरुले आफु बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौं प्रवेशका लागि स्थानीय तहको अनुमति अनिवार्य बनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौं आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । उक्त अनुमति प्राप्त सहित निवेदन परे पछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रशासनमा पठाउनु पर्नेछ ।
उक्त निवेदन माथि काठमाडौं प्रशासनले सङ्क्रमणको जोखिम विष्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार (३२ जेठ) एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशन बमोजिम उक्त व्यवस्था गरिएको जानकारी दिएको हो ।
काठमाडौंबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनु पर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ ।