होमपेज / समाज
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण मुलुक लामो सयम लकडाउन भए संगै विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गते देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने जानकारी दिएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु मार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जानकारी दिएको छ ।
विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भनाई छ ।
केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एक देखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने रुटिन निकालिसकेको बताए । उनका अनुसार असार १ गते देखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ ।
साथै विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको उनले बताए । रेडियो नेपाल र थुप्रै एफएमबाट पनि पढाउने व्यवस्था मिलाइएको डा. थपलियाको भनाई छ ।
उनले भने, ‘कक्षा ६ देखि ८ सम्मलाई टार्गेट गरेर कान्तिपुर एफएमले पनि भोलिबाट हप्ताको पाँच विषयगत पाठ पढाउन सुरु गर्दैछ, रेडियो नेपालबाट भोलिदेखि नै कक्षा ९ र १० को सामग्री प्रसारण हुँदैछ । अरु थुप्रै लोकल एफएमबाट प्रसारण गर्ने तयारी पनि स्थानीय तहहरुले गरिरहेको जानकारी प्राप्त भएको छ ।’
\

