होमपेज / समाज
काठमाडौं । नेपालमा पूर्वी भागबाट मनसुन भित्रिएको छ । मनसुन भित्रिए सँगै पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न विभागले सबैलाई अनुरोध गरेको छ । सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।
१२ जुनमा पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । मौसमविद समिर श्रेष्ठले भने, ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिन भित्र मनसुन देशभर फैलिन्छ ।’
सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा अहिले पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा शनिबार पनि पानी परेको थियो । त्यहाँ आइतबार पनि बदलीको अवस्था छ । पूर्वी भूभागमा पनि अधिकांश स्थानमा बदली रहेको मौसमविद श्रेष्ठले बताए ।