ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य राज्यमन्त्रीद्धारा त्रिवि शिक्षण अस्पतालको आकस्मिक निरीक्षण

नेपालगाथा २०७७ जेठ ३१ गते शनिबार १२:२९:३४ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक निरीक्षण गरेका छन् । शनिबार विहान निरीक्षणको क्रममा अस्पतालमा उपचाररत केही बिरामीसंग भेट समेत गरेका छन् भने कोरोना महामारीकै बेला अस्पतालको ‘फ्रन्टलाइन’मा रहेर सेवा दिईरहेका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीसंग छलफल समेत गरेका छन् ।

राज्यमन्त्री रावत अस्पतालमा उपचाररत केही बिरामीलाई आर्थिक सहयोग गर्ने सञ्चारकर्मी एवं कलाकार कृष्ण कंडेलको अभियानमा समेत सहभागी भए । ‘आज हामी आकस्मिक रुपमा त्रिवि शिक्षण अस्पतालमा पुगेका थियौँ । त्यहाँ जाँदा अस्पतालका कुनै पदाधिकारीलाई खबर गरेका थिएनौँ । हामीलाई बिरामीहरुसंग भेट हुन् थियो । ‘फ्रन्टलाइन’मा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको अवस्था पनि बुझ्न थियो । किनभने यसले हामीलाई तत्काल र दीर्घकालका लागि रणनीति बनाउन पनि सहयोग पुग्छ,’ राज्यमन्त्री रावतले भने ।

उनले अस्पतालमा बिरामीको चापमा कमी, भर्ना हुने विरामीको संख्या समेत थोरै रहेको बताए । अस्पतालमा भेटिएका विरामी र तिनका आफन्तहरुले अस्पताल र स्वास्थ्यकर्मीको सेवाप्रति सन्तुष्ठ रहेको आफूलाई प्रतिक्रिया दिएको बताए । केही स्वास्थ्यकर्मीहरुले कोरोना महामारीको बीचमा काम गरिरहेको र पीसीआर परीक्षण गर्न नपाएको गुनासो गरेका थिए ।
जवाफमा राज्यमन्त्री रावतले स्वास्थ्यकर्मीको सुरक्षामा सरकार सम्वेदनशील भएको भन्दै परीक्षण पनि हुने र ढुक्कले सेवामा खटिन आग्रह गरेका थिए । विहान ८ बजे अस्पताल पुगेका राज्यमन्त्री रावतले त्यहाँ करीब एक घण्टा विताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top