होमपेज / समाज
काठमाडौं । प्रतिनिधि सभाबाट आज (शनिबार) नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुँदै छ । दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनकारी दिएको छ । सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो । सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।
जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । जनता समाजवादी समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् । त्यो संशोधन विधेयकको मूल मर्म नै खारेजीमा केन्द्रीत छ । गिरिले राष्ट्रहित विपरितको संशोधन दर्ता गरेपछि सर्वत्र विरोध भैरहेको छ । संविधान संशोधनका पक्षमा विपक्षी पनि एकै ठाउँमा उभिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । त्यस्तै अर्को दल समाजवादी जनतापार्टीले पनि संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निदेर्शन दिएको छ ।