होमपेज / समाज
काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि विभिन्न चरणमा लकडाउन खुकुलो गर्दै जाने निर्णय गरेको हो । चैत्र ११ गते बाट गरेको लकडाउनको ७८ दिनपछि खुकुलो बनाउने निर्णय गरेको हो ।
जस अन्तर्गत पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ । लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन् । अबको २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइनेछ ।
आजबाट सुरु हुने सेवाहरु
स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक, औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण, फोहोरमैला व्यवस्थापन, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा जस्ता सेवाहरु सुरु हुनेछन् । यस्तै बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा, सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य, कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीत भण्डार सम्बन्धी सेवा तथा कार्य, उत्पादनशील उद्योग, निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय, विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धिधतसमेत), निर्माण कार्य (निजीसमेत), नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण, रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा सुरु हुने बताइएको छ । यस्तै क्वारेन्टिनका लागि तोकिएका होटल, बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप, पुस्तक पसल तथा स्टेसनरी, सबै प्रकारका ढुवानी सेवा, अत्यावश्यक सेवाका कार्यालय, अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन गर्न सकिने सरकारले निर्णय गरेको हो ।