होमपेज / समाज
सुर्खेत । सीमा क्षेत्रका नागरिकलाई उद्धार गरेर जानेक्रममा कालिकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । टिपरमा जम्मा ३९ जना मध्ये २७ जना यात्रु सम्पर्कमा आएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीवबहादुर बस्नेतका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । ३९ जना सवार रहेको टिपर बुधबार बिहान करिब १० ः ४० मा लालीघाटस्थित कर्णाली नदीमा खसेको थियो ।
दुर्घटना भएको लगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनामा परेका घाइतेको उद्धार र बेपत्ताको खोजी गरी उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
दुर्घटनालाई लिएर टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना प्रकोपको कारण भारतका विभिन्न ठाउँबाट आएका उनीहरुलाई कालीकोटको रास्कोटस्थित क्वारेन्टाइनमा लगिँदै गर्दा दुर्घटना भएको हो ।