होमपेज / समाज
शिक्षा, अनुसन्धान तथा संस्कृति आदान प्रदान र सहकार्य गर्ने उद्देश्य सहित मध्य-पश्चिमान्चल विश्वविद्यालय, नेपाल र सिच्याच्वांग थेताओ विश्वविद्यालय, चीन विच सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र सिच्याच्वांग थेताओ विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. फेंङ वेन्चीद्वारा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्रध्यापक तथा सुचना प्रविधी विज्ञ पञ्चदेव भट्टले जानकारी दिनुभयो ।
“उक्त सम्झौता अन्तर्गत दुवै विश्वविद्यालयविच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुने उल्लेख गरिएको छ,” उपप्रध्यापक भट्टले भन्नुभयो, “यो सम्झौता पछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्नेछन् ।” स्नातकोत्तर र विद्यावारिधी अध्ययनका लागि विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति का लागि आवेदन दिन सक्ने कुरा पनि समझदारी पत्रमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।
समझदारी पत्रमा उल्लेख गरिएको छ, “अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाईका लागि प्राध्यापकसमेत आदान–प्रदान हुनेछन् । यसको मुख्य उद्देश्य विश्वविद्यालयअन्तर्गतका संकाय तथा दोहोरो शैक्षिक सम्बन्ध विकास हुनेछ । यसमा हस्ताक्षर भएको मितिबाट पाँच वर्षका लागि मान्य हुनेछ भने त्यसपश्चात् यसको प्रभावकारिता र आवश्यकता अनुसार थप गरिने प्रावधान छ ।”
सिच्याच्वांग थेताओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनियरिंङ संग सम्बन्धित चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो । यो सहकार्य पश्चात मध्य-पश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।