होमपेज / समाज
काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरे संगै म्यानमारबाट २६ जना नेपाली काठमाडौँ आइपुगेका छन् । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।
कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड(१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले जानकारी दिए ।
विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।
सरकारले शुक्रबार म्यानमारसँगै यूएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरिरहेको छ । आज नै आउने बताइए पनि प्राविधिक समस्याका कारण आज राती सम्म आइपुग्ने बताइएको छ ।