होमपेज / समाज
सुर्खेत । बिहीबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा मृत्यु भएका एक युवाको कोरोना रिर्पोट पोजेटिभ आएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । क्वारेन्टाइनबाट घर फर्केपछि पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।
बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताए । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिए ।
जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई साता सम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए । बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । घर पुगेपछि उनको स्वास्थ्यमा समस्या आएको थियो ।