होमपेज / समाज
पश्चिम रूकुम । प्रहरी चौकी तोडफोडको आरोपमा पश्चिम रुकुमका एक वडा अध्यक्ष प्रक्राउन परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको अस्थाई प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो ।
केसी सहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ । मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्याएको थियो । त्यस पछि वडाध्यक्ष केसी सहित दुवै युवा फरार थिए । प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरिएको प्रनाउ केसीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए ।
सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा शुरु गरेको र त्यसपछि स्थानीय २०÷२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताए ।
रासस