ट्रेण्डिङ

होमपेज / समाज

क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

नेपालगाथा २०७७ जेठ २२ गते बिहीबार १२:१३:३९ मा प्रकाशित

सुर्खेत । क्वारेन्टिनबाट घर फर्किएका सुर्खेतका एक युवकको मृत्यु भएको छ । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको हो ।  पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार बिहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।

पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए । मेयर थापाका अनुसार जनता मावि विद्यापुरको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो ।

तर पन्चपुरी–१ का ती १९ वर्षीय युवकको भने रिपोर्ट नेगेटिभ आयो । उनी बसेको कोठामा रहेका अरु पाँच जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आयो । त्यसपछि बुधबार अपराह्न करिब ३ बजेतिर उनलाई घर पठाइयो । ‘जनता मावि विद्यापुरको क्वारेन्टिनबाट उनको घरसम्म पुग्न दुई–तीन घण्टा लाग्छ । तर अपराह्न तीन बजे क्वारेन्टिनबाट हिँडेका उनी राति ११–१२ बजेतिर बल्ल घर पुगेका रहेछन्,’ मेयर थापाले भने, ‘उनी घरमा ढिलो किन पुगे त्यो कुरा बुझ्दै छौं ।’
उनको बिहीबार बिहानपख करिब दुई बजेतिर मृत्यु भएको जानकारी आएको मेयर थापाले बताए । ती युवकको फेरि पनि स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली उनको घरतर्फ पठाइएको मेयर थापाले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top