ट्रेण्डिङ

होमपेज / समाज

क्याप्टेन दिनेश प्रतिष्ठानले तताएको मिडिया

समाचार विश्लेषण

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार ००:०२:४८ मा प्रकाशित

‘जहाजमा खराबी आयो अब जुम्ला पुगिदैन ।’ जहाजका मुख्य पाइलट दिनेश न्यौपानेले यति मात्रै के भनेका थिए, जहाजमा सवार यात्रु चिच्याउन थाले । र तुरुन्तै पाइलट दिनेशले भने, ‘हामी मरेर भए पनि तपाइहरुलाई जोगाउने छौं । सचेत भएर बस्नुहोला ।’ नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानको इन्जिन खराब भएपछि मुख्य पाइलट दिनेश न्यौपानेले सम्भावित घटनाका बारेमा यात्रुलाई जानकारी गराएका थिए । तर भयो पनि त्यस्तै । जसमा सवार नौै जनालाई उद्दार गरिएको थियो । यो घटनाले देश, दुनियाँ मात्र होइन, विश्व नै शोकमग्न भएको थियो र  मिडिया तातेकाे थियाे ।

 
आज यो घटना भएको करिब पाँच वर्ष पूरा भएको छ । अहिले फेरि क्याप्टेन दिनेशको नामले मिडिया तातेको छ । यति ठूलो निर्णय गरेर आफू मरेर जहाजमा सवार यात्रुलाई बचाउन सफल भएका व्यक्तिको बारेमा मिडियामा सकारात्मक सन्देश आउनु ठीकै हो। तर स्थानीय सरकारले गरेको निर्णय विषयमा क्याप्टेन दिनेश प्रतिष्ठानको नाममा नानाथरी कुरा आउनु भनेको पक्कै पनि राम्रो होइन । 

क्याप्टेन दिनेश प्रतिष्ठानले वीरेन्द्रनगर नगरपालिकासँग क्याप्टेन दिनेश प्रतिष्ठानका नाममा पार्क निर्माण गर्नका लागि २०७६ माघ २६ गते जग्गा माग गरेको थियो ।नगरपालिकाको जग्गा अनुमति दिने निर्णय बमोजिम वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको तोकादेशमा कार्य अघि बढेको नगरपालिकाले जनाएको छ । सोही कार्य अनुरुप कार्यबाहक प्रमुख मोहनमाया ढकालले चैत्र ७ गते वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ को घण्टाघर पार्कको पश्चिममा पर्ने खाली जग्गा क्याप्टेन दिनेश स्मृति पार्क लगत स्टमेट अनुसार क्रमागत रुपमा निर्माण गर्न दिनका लागि अनुमति दिइएको थियो । अहिले डिभिजन वन कार्यालयसँग सम्झौता भई काम अगाडि बढिरहेको छ । प्रतिष्ठानलाई संघीय सरकारले ३० लाख र प्रदेशको वन तथा वातावरण मन्त्रालयले ४० लाख रुपैयाँ दिएको छ । यस कार्यमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको संलग्नता देखिएको छ । 

कर्णाली प्रदेश प्राप्तिका लागि बनेका शहीदहरुको पार्क वीरेन्द्रनगर ४ मा बनाउने निर्णय भइसहकेको कार्यवाहक प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य सचिव तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले नगरपालिकाको गुरुयोजना नबिग्रने गरी संरचना निर्माण गर्नुपर्ने र निर्माण गरे पश्चात भोगचलनका लागि प्रतिष्ठानले दावी गर्न नपाउने, निर्माण गरिने संरचनाको डिजाइन, स्टिमेट सुर्खेत उपत्यका नगर विकास समितिले भने अनुसार हुनुपर्ने जस्ता सर्त सहित निर्माणका लागि अनुमति दिएको जानकारी दिनुभयाे। 


क्याप्टेन दिनेश प्रतिष्ठानले निर्माण गर्न लागेको पार्कको विरोध गर्नु यसकारण औचित्यहिन
१) क्याप्टेन दिनेशलाई राष्ट्रले नै शहीद घोषणा गरेपछि अब क्याप्टेन दिनेश कुनै स्थान विशेषका व्यक्ति भएनन् । उनी देशको कुनै पनि क्षेत्रका लागि उपयुक्त शहीद बने । तसर्थ उनको नाममा बन्ने कुनै पनि संरचनामा विरोध जनाउनु बेमौसमी बाजा जस्तै हो । 
२) अहिले जुन स्थानमा पार्क बन्दैछ । त्यो स्थानमा करिब दुई वर्ष पहिले नै पार्क बनाउने कुरा चलेको थियाे । तर प्राविधिक कारणले उक्त पार्क निर्माणका लागि रकमको व्यवस्थापन हुन नसक्दा रोकिएको थियो । तर अहिले क्याप्टेन दिनेश प्रतिष्ठानले सोही स्थानमा पार्क निर्माणका लागि रकमको व्यवस्थापन गरेकाले पार्क बन्न लागेकाे नगरपालिकाले जनाएकाे छ । तसर्थ यसको विरोध गर्नु पनि खासै औचित्य देखिदैन । 
३) सुर्खेत उपत्यका नगर विकास समितिको चनंं ७८ को मिति २०७७ जेष्ठ ९ गतेको पार्क निर्माणका लागि अनुमति थप स्पष्टताका सम्बन्धमा पत्रानुसार नगरपालिकाको गुरुयोजना नबिग्रने गरी संरचना गर्नुपर्नेछ र निर्माण गरेपश्चात भोगचलनका लागि प्रतिष्ठानले दावी गर्न पाउने छैन भनिएको छ यसका आधारमा पनि विरोध गर्नु तर्कसंगत देखिदैन । 
४) योजना निर्माण सम्पन्न पश्चात यस सुर्खेत उपत्यका नगर विकास समिति सुर्खेतलाई आयोजना हस्तान्तरण गर्नुपर्ने नगरविकास समितिको शर्त रहेको छ ।
५) पार्कको स्वामित्व क्याप्टेन दिनेश प्रतिष्ठानलाई नभएर सुर्खेत उपत्यका नगर विकास समितिसँग हुनेछ भन्ने शर्तले सम्पूर्ण अधिकार उपत्यका नगर विकास समितिको हुने भएपछि विरोधको के काम ।
६) पार्क निर्माण तथा लगानीकर्ताको पहिचान शिलालेख पार्कभित्र नगरपालिकाबाट स्वीकृत भएको विषय र साइजमा राख्न सकिने शर्तले क्याप्टेन दिनेश प्रतिष्ठानको एकल मनोमानी देखिदैन ।
७) पार्कको नामाकरण सुर्खेत उपत्यका नगर विकास समितिले तोके बमोजिम हुनेछ भन्ने शर्तले क्याप्टेन दिनेश प्रतिष्ठान पार्क नै हुन्छ भन्ने आधिकारिकता पनि देखिदैन । 
८) पार्क निर्माणका लागि नगर प्रमुख देवकुमार सुवेदीको तोकादेश र नगर विकास समितिको डिजानइनमा बनेकाले यसका बारेमा विरोध गरेर असमझदारी पैदा गर्नु भन्दा सहजीकरण गरेर आफू मरेर अरुलाई बचाउने महान शहीद प्रति पुष्प गुच्चाका शब्द अर्पण गर्दा स्वर्गीय दिनेश न्यौपानेको आत्माले शान्ति पाउन सक्छ । 

तसर्थ अन्य सबै तपसिलका विषय भए पनि क्याप्टेन दिनेश प्रतिष्ठानले पार्क निर्माणका लागि रकमको जोहो गरेकाले उक्त कार्यको अगुवाइ प्रतिष्ठानले गरेकाले यसका लागि विरोध गर्नु खासै सान्दर्भिक नभएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top