होमपेज / समाज
काठमाडौं । नेपालमा सोमबार मात्रै २ सय २६ जना कोरोना संक्रमित थपिए संगै देशभर कुल संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार थपिएका नयाँ संक्रमितहरुमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका जानकारी दिए ।
नयाँ संक्रमितहरुमा एक वर्षीया बालिका देखि ६५ वर्षीयसम्म रहेका छन् । कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जना, प्रादेशिक प्रयोगशलामा पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जना, प्रदेश अस्पताल तथा पशुपंक्षी प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जना, सल्यानको बनगाड कुपिण्डेका १० जना, सुर्खेतका ५ जनामा कोरोना देखिएको हो ।
यस्तै काठमाडौँको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा २० जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरिएको परीक्षणमा ९ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ जनामा संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको रंगिलाल माविका ११ जनालाई कोरोना पुष्टि भएको छ । त्यस्तै सेती अस्पतालमा १८ जना पोजेटिभ भेटिएका छन् ।