होमपेज / समाज
रुपन्देही । रुपन्देहीको भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् ।
अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।
भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । गैडहवा गाउँपालिकाका एकै घरका ६ जना थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या नरहेको बताए । ‘उनीहरु सुरुमा अस्पतालमा आउँदा मरिन्छ कि भन्ने डरले निकै भयभित थिए,’ उनले भने, ‘अहिले सबैजना प्रफुल्ल छन् । खुसीले नाचगान गरेका छन् ।’
उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका छन् ।