होमपेज / समाज
जाजरकोट । जेठ १० गते रात्री भएको घटनाको उच्चस्तरीय छानविन समितिले काम सुरु गरेको छ । छानविन टोली जाजरकोट पुगे संगै शुक्रबारदेखि काम थालेको हो । उच्चस्तरीय समितिले शुक्रबार मात्रै पीडितपक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन् । उक्त छानविन समितिले भेरी नगरपालिका–४ का सन्जु भनिने सञ्जीव विकको शवबारे स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्यायन गरेको छ ।
यस अघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी केटी भगाउन गएका युवाहरुमाथि भएको आक्रमण भएको थियो । आक्रमणमा पछि जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक सहित उनका केहि साथीहरुको निधन भएको थियो । भने केहि बेपत्ता छन् ।
घटनाबारे सदन देखि सडकसम्म चर्को दबाब परेपछि सरकारले गृहमन्त्रालयका सह–सचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । दलित भएकै कारण उपल्लो जातको केटी बिहे गर्न जाँदा मारिनुपर्ने अवस्थाको कहिले अन्त्य हुने भन्दै उक्त घटनाबारेमा छानविन गर्न चौतर्फी दबाब परेको थियो ।
सरकारद्वारा गठिन समितिले बिहीबार जाजरकोट आएर काम थालेको हो । घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक सहित सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव भेरी नदीमा फेला परिसकेको छ । भने भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।
उच्चस्तरीय समितिमा गृहमन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत, नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल छन् ।