होमपेज / समाज
सुर्खेत । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको थप एक जनाको शव भेटिएको छ । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको हो ।
जाजरकोटको भेरी नगरपालिका (११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले लोकेन्द्रको शव भेटिएको पुष्टि गरे । मृतकका परिवार र आफन्तले लोकेन्द्रको शव फेला पारेको उनले जानकारी दिए ।
यस सँगै रुकुम पश्चिमको यो घटनामा ज्यान गुमाउनेहरुको संख्या चार पुगेको छ । यसअघि भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको थियो ।
भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि प्रहरीले गोताखोरको टोली परिचालन गरेको छ ।
जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विककी प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयले आक्रमण गरेपछि उक्त घटना घटेको थियो ।