होमपेज / समाज
सुर्खेत । शनिबार राती रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको जानकारी दिएका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैकठमा गृहमन्त्री थापाले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको बताए । यस अघि शनिबार राती जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गर्दा नवराज विक सहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको उनले बताए ।
घटनामा संलग्न युवती, युवतीका आमाबुबा, वडा अध्यक्षसमेत गरेर १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र जोसुकै भएपनि कानुनी कारबाही गरिने गृहमन्त्रीले बताए । बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको उक्त घटनाबारे सत्यतथ्य र त्यसविरुद्ध चालिएका कदमबारे जानकारी गराउन माग गरेका थिए ।
उनले कानुनले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रूपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताएका थिए ।