होमपेज / समाज
काठमाडौं । थप सात जनामा कोरोना भाइरस संक्रमण देखिए संगै नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दोस्रो पटक सातजना संक्रमित थपिएको बताएका छन् । उनका अनुसार सेती अञ्चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । उनको अहिले अछाम अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए ।
त्यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीन जनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया २ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ । जस अनुसार जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । सोमबारै बाराकै अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको उनले बताए । यसअघि सोमबार बिहान मात्रै ७२ जना कोरोना संक्रमित भेटिएको थियो ।