होमपेज / समाज
जाजरकोट । स्थानीय बासीको कुटपिटबाट जाजरकोटमा एक जनाको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका –४ रानागाउँका नवराज विकको रुकुम पश्चिमको चौरजहारी–८ सोतीका स्थानीयहरुको कुटपिटबाट विकको शनिबार राति मृत्यु भएको हो ।
नवराजसँग गएका ६ जना युवाहरु अझै बेपता रहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा १२ जनालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।
नवराज र सोतीस्थित एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र ती युवतीले बोलाए पछि नवराजले १९ जना युवाहरु लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती गएका थिए । केटाहरु आएको खबर ती युवतीको आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवाहरुलाई कुटपिट गर्दा नवराजको मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
गाउँहरुले लखेट्दा अन्य ६ जना बेपता रहेको उनको भनाइ छ । नवराज ती युवतीबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले उनीहरुबीच विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समय अघि उजुरी समेत दिएको श्रेष्ठले जानकारी दिए । उजुरी दिएपछि दुवै समूहबीचमा छलफल समेत भएको थियो ।