होमपेज / समाज
सुर्खेत । शनिबार सुर्खेतका ३ जनामा कोरोना भाइरस संक्रमण देखिए संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थपिएका तीनै जना सुर्खेत जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरु सुर्खेत बराहताल गाँउपालिकाका २ र चौकुने गाउँपालिकाका १ जना छन् । उनीहरूलाई बिहीबार भारतबाट उद्धार गरी ल्याई बबईमा आरडिटी गरिएको थियो । रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको र त्यसक्रममा पनि उनीहरुको रिपोर्ट पोजिटिभ आएको थियो ।
त्यसपछि उनीहरुको स्वाब सकलन गरी थप चेकजाँचका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो । त्यहाँ पनि उनीहरुमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
उनीहरुको अहिले प्रदेश अस्पताल वीरेन्द्रनगरको आइसोलेसन कक्षमा उनीहरुको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । यसअघि दैलेखका १ जनालाई कोरोना सक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ सय ८४ पुगेको छ ।