होमपेज / समाज
काठमाडौं । कालापानी लिपुलेक र लिम्पियाधुरासहित समेटिएको नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो । राजपत्रमा प्रकाशित भएको नक्सामा नेपाल सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
यो नक्सा राजपत्रमा प्रकाशित भएसँगै नेपालका सबै सरकारी कामकाज किताबहरूमा पनि राजपत्रमा प्रकाशन भएकै नेपालको नक्सा लागू हुनेछ । राजपत्रमा भनिएको छ । ‘नेपाल सरकारले संलग्न बमोजिमको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) नक्सा स्वीकृत गरी प्रकाशन गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ । गत जेठ ४ गतेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।
उक्त नक्सा गत जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल टेलीभिजनमा एक कार्यक्रमका बीच सार्वजनिक गरेकी थिइन् ।
नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भइसकेपछि नापी विभागले पहिलो चरणमा ३ हजार नेपालको नयाँ नक्सा छाप्ने तयारी गरेको छ । विभागले नक्सा छपाइको कामसमेत सुरु गरिसकेको जनाएको छ । जेठ ११ गतेदेखि उक्त नक्सा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सबै संवैधानिक निकाय र मन्त्रालय तथा मातहतका कार्यालय, तथा कुटनीतिक निकायका कार्यालयहरूमा पठाउने तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ ।