होमपेज / समाज
दार्चुला । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) निर्माणका लागि प्रक्रिया सुरु भएको छ । यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ ।. सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो ।
भवन निर्माणका लागि सशस्त्रले सरकारी जग्गा प्राप्त गरिसकेको छ । कालापानी, लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि जनआक्रोश सिर्जना भएका बेला सरकारले छाङरुमा सशस्त्र प्रहरीको उपस्थिति कायम गरेको थियो ।
यो क्षेत्रसम्म पुग्नका लागि सडक सञ्जालको समेत समस्या छ । नेपाली सेनाको फौज सडकको ट्याक खोल्नलाई घाँटी बगर क्षेत्रमा बिहीबार पुगेको छ ।