होमपेज / समाज
सुर्खेत । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै बिहीबार कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा १ हजार बढि मानिसहरु आइपुगेका छन् । भेरीगङ्गा नगरपालिका ५ बबईमा एक हजार २ सय ७ नागरिक आइपुगेका हुन् ।
प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५ सय, सुर्खेतका ३ सय २०, सल्यानका २ सय ६६, जाजरकोटका ७७ र कालीकोटका ४४ जना नागरिक रहेको छन् ।
उनले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीबासी नागरिक भित्रिदै गरेकोले प्रदेश सरकारले सबैको आरडीटी गर्ने भन्दै स्थानीय सरकार सहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरे । उनले भने, ‘यतिमात्र होइन भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडीटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टिनमा बस्ने गरिएको छ ।’
प्रदेश सरकारले तत्काल आरडीटीका लागि आवश्यक किट सहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकास मन्त्री दल रावलले जानकारी दिए । ‘त्यहाँ पुगेका सबैको आरडिटी परीक्षण गर्छौँ र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टिनमा राख्छौँ । उनीहरुको पिसीआर गरेर सङ्क्रमण देखिएमा आइसोलेसनको पनि तयारी भइरहेको छ’, उनले भने ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले अहिले तत्काल ७०० किट सहित १६ जना आरडीटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताए । आवश्यकतामा अन्य थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उहाँले जनाए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए । केही जनशक्ति सीमा निर्वाध रहेको र केही जनशक्ति यहाँबाट पठाइएको उनले बताए । यो डेढ साताभित्र प्रदेशमा १५ देखि २० हजार नागरिक भित्रिसकेको अनुमान छ ।
रासस