होमपेज / समाज
धनकुटा । धनकुटाका पत्रकारलाई नेपाल पत्रकार महासंघ धनकुटाले आर्थिक सहयोग गरेको छ । लकडाउनका कारण समस्यामा परेका धनकुटाका २६ जना पत्रकारलाई नेपाल पत्रकार महासंघ धनकुटाले आर्थिक सहयोग गरेको हो । लामो समय सम्म लकडाउनका कारण संकटमा परेका श्रमजिवी पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाले पत्रकार कल्याण कोषबाट आर्थिक सहयोग गरेको हो ।
महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा भएको आर्थिक सहयोग अभियानले समस्यामा परेका धनकुटाका २६ जना श्रमजिवी पत्रकारलाई पहिलो चरणमा आर्थिक सहयोग वितरण गरेका हो । बाँकी अन्य पत्रकारहरुलाई पनि दोस्रो चरणमा आर्थिक सहयोग उपलब्ध गराउने महासंघ धनकुटाका सचिव विदुर खवासले बताए ।
नेपाल पत्रकार महासंघ धनकुटाले १० वर्ष अघि स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपत विपतमा परेका पत्रकारहरुलाई सहयोग गर्दे आएकोमा यस पटक पनि कोरोना भाइरसको सम्भावित संक्रमणको नियन्त्रणका लागि लगाएको लकडाउनका कारण समस्यमा परेका धनकुटाका श्रमजिवी पत्रकारहरुलाई सहयोग गरिएको महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।
यस्तै पूर्वमन्त्री तथा राप्रपा नेता सुनिलबहादुर थापाले पत्रकार महासंघ धनकुटाको पत्रकार कल्याणकारी कोषमा २६ हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त सहयोग राप्रपा धनकुटाका नेता मिनबहादुर कार्कीले पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरेका थिए ।