होमपेज / समाज
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली प्रदेश सरकार बिच पत्रकारीतामा अध्ययनरत विद्यार्थीलाई छात्रवृति दिने बिषयमा सम्झौता भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम ल्याए अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँग बुधबार छात्रवृत्ति प्रदान गर्ने बारे सम्झौता भएको हो ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयबीच पाँच जना विद्यार्थीलाई जनही एक एक लाखका दरले छात्रवृत्ति प्रदान गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको उपस्थितिमा मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र मप विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
‘आर्थिक समस्या र विपन्नताका कारण विद्यार्थीको पत्रकारिता अध्ययनमा विट नलागोस् भनेर हामीले ‘स्नातकोत्तर पत्रकारिता छात्रवृति कार्यक्रम’ राखेका हौं । विश्वविद्यालयले आवश्यक मापदण्ड बनाएर यसको न्यायोचित वितरण र पारदर्शितामा ध्यान देओस,’ मन्त्री भण्डारीले भने, ‘लोकतन्त्रमा पत्रकारिता नै समाजको एैना भएको र उक्त एैनालाई थप पारदर्शी बनाउन हामीले यो कार्यक्रम राखेका हौं ।’
यस्तै विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले आवश्यक मापदण्ड बनाएर विपन्न र प्रतिभावान् विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकारको यो छात्रवृति कार्यक्रमले विद्यार्थीको अध्ययनमा उर्जा र विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउँदै प्रदान गर्दा पारदर्शितामा विश्वविद्यालय नचुक्ने उनको भनाइ थियो ।