होमपेज / समाज
दार्चुला । कालापानी नजिकै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो ।
बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । नेपाली सेनाको एम–१६ हेलिकोप्टर मार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो ।
दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो । ‘जम्मा २५ जनालाई अहिले बीओपीमा राख्दैछौं, अरुलाई भोलि पठाउनेछौं’, सशस्त्र प्रहरीका एक अधिकृतले जानकारी दिए ।
विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन ।
छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरिएको हो । चाँडै सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।