होमपेज / समाज
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमारले भारतले नेपाली भूमिमा १९ किलोमिटर सडक बनाएको दावि गरेका छन् । प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली भूमिमा भारतले १९ किलोमिटर सडक बनाएको जानकारी दिए पनि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने नेपाली भूमिमा भारतको २० देखि २२ किलोमिटर सडक रहेको बताएका छन् ।
मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रारम्भिक जानकारी पाए सँगै यसबारेमा विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको जानकारी दिए ।
यस अघि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा विस्तृत जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको जानकारी दिएका थिए । उनले त्यसमा के–के जानकारी समेटिएको छ भन्ने कुराचाहिँ खुलाउन नमिल्ने बताए ।
मन्त्री ज्ञवालीले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको अवधारणा भारतले सन् १९९९ मा विकास गरेको पनि जानकारी दिए । भारत सरकारले सन् २००५ मा स्वीकृत गरेको सो सडकमार्गको निर्माण कार्य सन् २००८ मा सुरु गरेको पनि उनले जानकारी दिए । सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि भारतले सडक निर्माणमा तीव्रता दिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।
त्यस्तै मन्त्री ज्ञवालीले नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि नै भएको बताउँदै विवादित विषय सुगौली सन्धिअनुसार नै समाधान हुनुपर्छ भन्नेमा नेपाल अडिग रहेको बताए । यो विषयमा भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि कोरोना भाइरसको संक्रमण रोकिएसँगै परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने कुरा दोहोरÞ्याएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले कूटनीतिक तवरबाटै समस्या समाधान गरिने बताए ।