होमपेज / समाज
काठमाडौँ । सीमा बचाउ अभियान, नेपालले सुगौली सन्धिले तोकेको भूमि समेटेर आधिकारिक नक्सा सार्वजनिक गर्न माग गरेको छ । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सीमा बचाउ अभियान, नेपालले आपत्ति जनाउँदै सरकारलाई सुगौली सन्धिले तोकेको भूमि समेटेर आधिकारिक नक्सा सार्वजनिक गर्न माग गरेको हो ।
अभियानका संयोजक भैरव रिसालले विज्ञप्ति जारी गर्दै सरकारलाई प्रश्न गरेका छन, ‘नेपाल सरकारको तर्फबाट सुगौली सन्धिले तोकेको नेपालको आधिकारिक नक्सा प्रकाशन गर्न नेपाल सरकारलाई कसले रोक्यो ? होइन भने तत्काल नक्सा सार्वजनिक गरी आफ्नो दाबी पेस गर ।’
भारतीय रक्षामन्त्री राजनाथ सिंहले दार्चुलास्थित लिपुलेक भएर मानसरोवर जाने बाटो शुक्रबार उद्घाटन गरेका थिए । उक्त कार्य प्रति भारतस्थित नेपाली दूतावासलाई पूर्वजानकारी नहुनुमा पनि अभियानले असन्तुष्टि व्यक्त गरेको छ । ‘नेपाल सरकारको प्रतिनिधि भएर आधिकारिक रूपमा नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा रहेका भारतका लागि नेपाली राजदूतलाई भारतीय रक्षामन्त्रीले बाटोको उद्घाटन गर्दैछन् भन्ने कसरी थाहा भएन वा हुन सकेन ?’ उक्त कुरा थाहा नभएको हो कि थाहा पाएर पनि परराष्ट्र मन्त्रालयलाई जानकारी नगराइएको हो वा सरकारले केही नगरेको हो भन्नेबारे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग सोधपुछ गर्न पनि अभियानले माग गरेको छ ।