होमपेज / समाज
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा नेता विष्णु रिजालको पहलमा स्वास्थ्य सामाग्री दैलेख आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँबाट पचास पिपिई, दुई हजार पाँच सय सर्जिकल मास्क, दुई थर्मल गन र बिस लिटर सेनिटाइजर स्वास्थ्य कार्यालय दैलेखमा पठाइएको हो । यस अघि पचास गाउन, पाँच पिपिइ र एक थर्मल गन मन्त्रालयबाट दैलेख आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा निरञ्जन पन्तले बताए । रिजालले मन्त्रालयमा समन्वय गरिदिएपछि स्वास्थ्य कार्यालयमा यी सामग्री आएको बताइएको छ ।
कोरोना संक्रमणको त्रास सँगै स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री अभाव भएको भन्दै लकडाउन शुरु हुनुभन्दा अगावै मन्त्रालयमा सामान मगाउने काम भएको भए पनि उचित सम्बोधन हुन सकेको थिएन ।
दैलेखमा पर्याप्त स्वास्थ्य उपकरण नभएको र भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रनेको सङ्ख्या बढ्दो छ । पछिल्ला दिनमा उद्धारका नाममा भित्रनेको सङ्ख्या पनि धेरै छ । सुरक्षा सामग्रीको तत्काल आवश्यकता महसुस भएपछि नेकपाका केन्द्रीय सदस्य तथा पार्टी विदेश विभाग उपप्रमुख रिजालले दुई साता अघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी दैलेखको समस्या बताएका थिए ।
स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य कार्यालय दैलेखमा सामान पठाउन सहजीकरण गरेका रिजालले आफूले व्यक्तिगत लगानी र काठमाडौँमा रहेका विभिन्न निकाय सँग सहयोग मागेर दैलेख क्षेत्र नं २ स्थित दुल्ल अस्पतालमा छ हजार सर्जिकल मास्क, पाँच ज्वरो नाप्ने थर्मल गन, पाँच सय सर्जिकल ग्लोब्स, बीस लिटर ह्याण्ड सेनिटाइजर लगायत सामग्री दुल्लुमा पठाएको दुल्लु अस्पतालका डा पूजा बिसीले जानकारी दिए । रिजालले काठमाडौँबाट पठाएको स्वास्थ्य सामग्री अस्पतालमा आइपुगेको डा प्रशान्त चौलागाईँले बताए ।
भैरवी गाउँपालिका निवासी रिजालले दैलेखका बासिन्दाको स्वास्थ्योपचारमा थप प्रभावकारिता होस् र स्वास्थ्यकर्मीलाई जनताको उपचार गर्न सामग्री अभावले समस्या झेल्नु नपरोस् भन्दै सामग्री पठाइएको प्रतिक्रिया बताए ।