ट्रेण्डिङ

होमपेज / समाज

मध्यपूर्वका नेपालीलाई उद्धार गर्न एनआरएनएको आग्रह

नेपालगाथा २०७७ बैशाख २५ गते बिहीबार १२:२७:४६ मा प्रकाशित

अमेरिका । कोभिड १९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली संघले आग्रह गरेको छ । समय सँगै समस्या झनझन् बढ्दै जानेतर्फ इङ्गित गर्दै संघको मध्यपूर्व क्षेत्रले प्राथमिकताका आधारमा उद्धार गर्न बढाउन आग्रह गरेको हो । मध्यपूर्वमा देशहरुमा नेपाली श्रमिकहरुको संख्या उल्लेख्य रहेको छ ।

संघको मध्यपूर्व क्षेत्रले नेपाल सरकार परराष्ट्र मन्त्रालयको प्रत्यक्ष संलग्नतामा मध्यपूर्वमा रहेका नेपाली दूतावाससहित विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा विशेष समिति बनाएर काम गर्नसमेत अनुरोध गरेको छ ।

संघले कामबाट निकालिएका कामदारलाई तत्काल सेल्टरको व्यवस्था गर्न, रोजगारी गुमाएकालाई पुनः त्यही देशमा काम गर्न पाउने गरी व्यवस्था मिलाउन, स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्काइ क्वारेन्टाइनको व्यवस्था गर्न, क्वारेन्टाइनका लागि ७७ वटै जिल्लाका होटल, विद्यालय र सार्वजनिक भवनलाई प्रयोगमा ल्याउन र आफैँ खर्च गरेर बस्न चाहनेलाई विशेष छुटका साथ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ओमनमा बस्दै आएका संघका प्रवक्ता डिबी क्षेत्रीले बताए ।

एकैपटक लैजान सम्भव नहुने भएकाले दैनिक पाँच हजार जनालाई मात्रै स्वदेश लैजाँदा १४ दिनमा ७० हजार नेपालीको उद्धार हुने र उनीहरु क्रमशः क्वारेन्टाइनबाट निस्कने हुँदा व्यवस्थापनमा समेत सहज हुने संघको सुझाव रहेको छ ।

स्वदेश फर्किएर क्वारेन्टाइनमा रहेकै समयमा उनीहको लगत राख्ने र दक्षतासमेत मापन गर्ने गरी सरकारले तयारी गर्नुपर्ने भन्दै यसो गर्न सक्दा फर्किएकालाई सरकारले उनीहरुको दक्षता अनुरुपको काममा लगाउन सक्ने समेत १४ बुँदे सुझावमा सुझाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top