होमपेज / समाज
काठमाडौं । विश्व शान्तिको कामना सहित वैशाख शुक्ल पूर्णिमाका दिन बिहीबार (आज) २५६४औँ बुद्ध जयन्ती मनाइँदै छ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनु भएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५ सय २८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भए पछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो ।
३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनु भण्एको थियो । भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । यसलाई बुद्धले दिनु भएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा हिजो दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना गरिएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै विश्व शान्तिको कामना गर्नुभएको छ । उहाँले आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको छ । सरकारले बुद्ध जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।