होमपेज / समाज
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड (१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत भएनन् । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको उनको भनाइ थियो ।
बुधबारको मन्त्रिपरिषद् बैटकमा पनि प्रधानमन्त्रीओलीले अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहेलो र हरियो क्षेत्र छुट्याउने बेला नभएको बताएको एक मन्त्रीले जानकारी दिए । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।