ट्रेण्डिङ

होमपेज / समाज

एक साता सम्म वर्षाको निरन्तरता

नेपालगाथा २०७७ बैशाख २३ गते मंगलबार ०९:५५:२२ मा प्रकाशित

काठमाडौँ । नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्र्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ ।
नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।

पूर्वमनसुन (प्रिमनसुन)को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण एक सातासम्म वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
मौसमविद् प्रतिभा मानन्धरले भनिन, ‘अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ ।’

पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उनको भनाई छ । ‘हाल देखिएको मौसम प्रणालीले विस्तारै प्रिमनसुनलाई मनसुनतिर धकेलिँदै लगेको देखाउँछ । विभिन्न वायु सक्रिय बनेर पश्चिमी वायुलाई विस्थापित गर्ने क्रममा यो प्रणाली विकसित भएको हो,’ मौसमविद् मानन्धरले सुनाइन् ।
गोरखापत्र दैनिकबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top