होमपेज / समाज
काठमाडौँ । नेपालमा हाल सम्म ६१ हजारको कोरोना परिक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ९८ र आरडिटीमार्फत ४८ हजार ५२९ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार २५२ को परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार २ सय ८२, प्रदेश नं २ मा पाँच हजार ६ सय ८७, वाग्मती प्रदेशमा पाँच हजार ५ सय १५, गण्डकी प्रदेशमा पाँच हजार ४ सय ११, प्रदेश नं ५ मा चार हजार २ सय ४०, कर्णाली प्रदेशमा पाँच हजार ५ सय ७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ आरडिटी परीक्षण गरिएको हो । हाल काठमाडौँमा चार र उपत्यका बाहिर ८५ गरी ८९ शङ्कास्पद व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ ।
यो संगै सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट अहाउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरण अनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ८ सय ६५, प्रदेश नं २ मा एक हजार ३ सय ९१, वाग्मती प्रदेशमा ५ सय ११, गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नं ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा पाँच हजार ५ सय ७१ व्यक्ति क्वारेन्टाइनमा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयले कल सेन्टरमा दुई हजार ८४ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार पुगेको छ । हाल ३१९ जना रेड जोनमा रहेका र उनीहरुलाई ट्रेसिङ गर्ने कार्य जारी रहेको छ ।
विराटनगरमा कोशी अस्पतालको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण भइरहेकामा त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट समेत परीक्षण शुरु भएकाले कूल १७ स्थानबाट सेवा थालिएको डा देवकोटाले जानकारी दिए ।
आज पनि कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५९ नै रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४९ जना पुरुष र १० महिला छन् । हालसम्म १६ जना निको भएर फर्किएका छन् । कूल ४३ जना उपचाररत छन् । रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा एक÷एक, वीरगञ्जमा आठ र विराटनगरमा ३१ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।