होमपेज / समाज
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षणका लागि पिसिआर उपकरण (मेसिन) आइपुगेको छ । उपकरण आएर जडान समेत भइसकेको छ तर आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन । किट ल्याएर प्रयोगमा ल्याउने तयारी गरिएको छ । अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन सकिने अवस्था नरहेको बताए । पिसिआर उपकरण जुम्ला पुग्यो । जडान कार्य पनि सम्पन्न भयो । आवश्यक जनशक्ति तयारी अवस्थामा छन् । चिकित्सक रावलले भने, ‘आवश्यक पर्ने किट नहुँदा प्रयोगमा आउन सकेको छैन । जसकारण उपकरण प्रयोगविहीन छ ।’
‘कोरोना परीक्षण किट सरकारसंँग माग गरिएको छ । आगामी शुक्रबार सम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएका छौँ’ उनले भने, ‘किट आउनेबित्तिकै परीक्षण कार्य सञ्चालन हुनेछ । त्योे बिना सम्भव भएन ।’ अस्पताल निर्देशक चिकित्सक रावलका अनुसार पहिले पिसिआर उपकरण (मेसिन) सरकारसँग माग गरिएको थियो । सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा टेण्डर आह्वान गरेर चीनदेखि पिसिआर उपकरण जुम्ला ल्याएको हो ।
किट नहुँदासम्म पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन । किट बाहिर किन्न पनि मिल्छ तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन । सरकारले ल्याउन सक्ने भएकाले ५०० सम्म किट माग गरिएको छ । तत्काल दुई र तीन सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । यो उपकरणले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको छ । अहिले दुईजना ल्याबका कर्मचारी सुर्खेतमा छन् । उनीहरु सुर्खेतको पिसिआर उपकरणबाट चलाउन सिकिरहेका छन् । किट आउने बित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य शुरु हुने अस्पतालले जनाएको छ ।
रासस