ट्रेण्डिङ

होमपेज / समाज

'ई–तालिमले विश्वविद्यालयलाई प्रविधितर्फ जान सहज बनाएको छ' – उपकुलपति प्राडा सिंह

मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रविधितर्फ लम्कदैं

नेपालगाथा २०७७ बैशाख १५ गते सोमबार १९:१९:३९ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयमा आयोजना गरिएको ई–तालिमले विश्वविद्यालयका विभिन्न गतिविधिहरुलाई विद्युतीय प्रविधिमार्फत सञ्चालन गर्न सहज भएको बताउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयको आयोजनामा शुरु भएको तीन दिने ई–तालिमको समापन गर्दै उपकुलपति प्राडा सिंहले विश्वविद्यालयका गतिविधिलाई ई–प्रविधिमा लैजाने विश्वविद्यालयको कार्यक्रम भएता पनि कोभिड–१९ ले बनाएको लकडाउनमा सञ्चालन भएको ई–तालिमले यसलाई सहज बनाएको बताउनुभयो । 
तालिमको समापन मन्तब्य ई–माध्यमबाट राख्नुहुँदै उपकुलपति प्राडा सिंहले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा लकडाउन भयो भने मानव समुदायको अस्थित्व नियमित ढंगबाट नचल्ने बताउनुभयो । त्यसैले पनि ई–सिकाई अहिलेको आवश्यकता भएको उहाँले जोड दिनुभयो । कर्णालीका हरेक दुःख र सुखलाई आफुले अनुभुति गरेको बताउँदै उपकुलपति प्राडा सिंहले अब कर्णालीका शैक्षिक संस्थाहरुलाई प्रविधिसँग जोडेर कर्णालीलाई विश्वसमुदायसम्म जोडिने बताउनुभयो । आदिवासी ज्ञान, आदिवासी सीप र आदिवासी समुदायलाई अब प्रविधिमार्फत रुपान्तरण गर्दै शैक्षिक क्षेत्रलाई व्यवहारिक बनाउनेतर्फ उपकुलपति प्राडा सिंहले जोड दिनुभयो ।


समापन कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै विश्वविद्यालयका रजिष्टा यामबहादुर कार्कीले शिक्षा संकायमा पहिल्यैदेखि ई–प्रविधिमा जानेकि भन्ने सोच भएको बताउनुभयो । प्रविधिमय कलासका लागि तालिम र अभ्यास मात्र नभएर नीति निर्माण कै तहमा पनि छलफल भएकाले यसलाई संस्थागत गर्दै लैजानका लागि विश्वविद्यालय परिवार सकारात्मक रहेको बताउनुभयो । 
तालिमलाई सहजीकरण गर्नुभएका किष्ट कलेज काठमाडौंका निर्देशक तथा माउण्ट तेक सोलुसनका प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर बस्नेतले कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा प्रविधिको सही सदुपयोग गर्न सकेमा यसले ठूलो परिवर्तन गर्न सक्ने बताउनुभयो । दुर्गम क्षेत्रमा हिडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्न कठीन हुने भएकाले इन्टरनेटलाई विस्तार गरेर ई–शिक्षा दिन सक्यौ भने यसले दुर्गम क्षेत्रलाई विश्वव्यापीकरण गर्न सहज हुने बस्नेतको ठहर छ । 
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आयोजना गरिएको ई–तालिमले अनलाइनमा मात्र होइन अफलाइनमा पनि शिक्षक र विद्यार्थीलाई शैक्षिक सामग्री आदान प्रदान गर्नमा सहज हुनुका साथै शिक्षण सिकाइ क्रियाकलाप पनि उपलब्धिमूलक हुने भन्दै आइटी विशेषज्ञ बस्नेतले मप विश्वविद्यालयले इन्टरनेटलाई जोड दिएर प्रविधिको भरमग्दुर प्रयोग गरेर कर्णाली प्रदेशलाई विश्वमा चिनाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।


तालिमका सहभागीहरुले ई–तालिम विश्वविद्यालयका लागि मात्र नभएर अहिलेको समयानुसार अति आवश्यक भएको बताएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन बिष्णुकुमार खड्काले तालिम दुई दिनका लागि भनिएको भएता पनि तालिमका सहभागीहरुको मागलाई ध्यानमा राखेर तीन दिनसम्म सञ्चालन गरिएको जानकारी दिनुभयो । 
शिक्षाशास्त्र सङ्काय अन्तर्गतका विभिन्न विषय प्राध्यापन गर्ने सम्पुर्ण विषयका Teaching faculties हरुको लागि मप विश्वविद्यालय शिक्षाशास्त्र संकायले दुई दिने 'Developing Innovative & Technology based E-Pedagogy' थिममा पेसागत क्षमता अभिवृद्धिका लागि ई–तालिमको आयोजना गरेको थियो । तालिममा मोर्गान विश्वविद्यालय अमेरिकाका प्राडा उत्तम गौली, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रविधि विज्ञहरुले तालिमको सहजीकरण गर्नुभएको थियो ।
तालिममा मप विश्वविद्यालय केन्द्रीय क्याम्पस र विभिन्न १० वटा आंगिक क्याम्पसका गरी करिब १५० जनाको सहभागिता भएको तालिम प्रविधि संयोजक उपप्राध्यापक पञ्चदेव भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top