होमपेज / समाज
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होम सेन्टर सहित पालिका स्तरमा, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ । संगठनको आइतबार बसेको केन्द्रिय समितिको अनलाइन बैठकले शिक्षा मन्त्रालयलाई यस्तो सुझाब दिने निर्णय गरेको हो । बैठकले यदि परिस्थिति समान्य हुन ढिलाइ भएमा कक्षा १२ को परीक्षा मात्र राष्ट्रियस्तरमा र अन्य परीक्षा विद्यालयले विगतमा गरेको विद्यार्थी मूल्याङ्कनको आधारमा गर्न पनि माग गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले नतिजा प्रकाशन र भर्ना अभियान फोन, म्यासेज र अनलाइन मार्फत नै सम्पन्न गर्ने गरि व्यवस्था मिलाउन समेत मन्त्रालयलाई सुझाब दिने निर्णय गरेको संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । यस्तै, संगठनले तत्काल विद्यालयहरुमा सूचना प्रविधि मार्फत शिक्षण सिकाइ सूचारु गर्ने वातावरण तयार गर्न मन्त्रालयलाई विशेष कार्य योजना निर्माण गर्न समेत माग गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
यस्तै, बैठकले शिक्षकहरुलाई भर्चुअल कक्षा सञ्चालनका लागि अनलाइन शिक्षण तालीम प्रदान गर्ने निर्णय गरेको छ । लकडाउन अवधि भर डिजिटल अध्यापनका लागि सातै प्रदेशमा ५ दिने अनलाइन तालिम सञ्चालन गर्ने र १ हजार रोस्टर तयार गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले बताए ।
ंत्यसको व्यवस्थापनका लागि संगठनका केन्द्रीय उपाध्यक्ष इन्द्रराज भट्टराई संयोजक र केन्द्रीय सदस्य देविदत्त पौडेल सहसंयोजक रहेको ७ सदस्यीय कार्यदल निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।
बैठकमा अध्यक्ष अधिकारीले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए । यस्तै, सातै प्रदेशका प्रदेश महासचिवहरुले समसामयिक सवालमा धारणा राखेका थिए । बैठकमा संगठनका अर्थ उपमहासचिव कुल प्रसाद खतिवडाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, महासचिव निम बहादुर केसीले प्रस्तुत गरेका सांगठानिक प्रतिवेदनमाथि छलफल भएको थियो । यस्तै, महासंघका सहअध्यक्ष पुर्णप्रसाद दुवाडीले महासंघका काम, कर्तव्य र आगामी रणनीतिका बारेमा ब्रिफिङ गरेका थिए ।