ट्रेण्डिङ

होमपेज / समाज

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

नेपालगाथा २०७७ बैशाख १३ गते शनिबार १७:४७:४७ मा प्रकाशित

काठमाडौं। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय लिएको समितिका एक सदस्यले बताए । कति समय बढाउने भन्ने विषयमा ती सदस्य बोल्न नचाहे पनि बढाउन सिफारिस भएको बताएका छन् । ‘लकडाउन बढाउने निर्णय मन्त्रिपरिषद्बाट हुनेछ हामीले बढाउनुपर्छ भनेर सिफारिस गरेका छौँ,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरसको सन्दर्भमा हेलचेक्र्याइँ नगरी लकडाउनको विषयमा सिफारिस लिनका लागि उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए । समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदमा छलफल भएपछि मात्रै निर्णय लिइनेछ । यसअघि राष्ट्रिय गौरवका आयोजना तथा उद्योग कलकारखाना पनि दूरी कायम गरेर मापदण्ड अपनाएर खुलाउन सक्ने निर्णय समितिले लिए पनि जनशक्ति अभाव र बढ्दो त्रासले खुल्न सकेको अवस्था छैन ।

काममा खटिने मानिसहरू सुरक्षित आवतजावतका विषयमा समेत मिलाएर काम अघि बढाउने नीतिमा सरकार देखिएको छ । तथापि, निजी तथा सार्वजनिक यातायात र अत्याआवश्‍यकबाहेकको व्यापार नखोल्ने नीतिमा सरकार अडिग रहेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनको आज ३३औँ दिन हो । गत ११ चैतबाट देशभर लकडाउन लागू गरिएको हो । सरकारले १५ वैशाख सम्म लकडाउनको समय तोकेको छ । भारतले ३ मेसम्मका लागि लकडाउनको समय तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top