होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९) को परिक्षणलाई तिव्र बनाउन निर्देशन दिएका छन् । शनिबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको विपदव्यवस्थापन केन्द्रको बैठकमा बोल्दै पछिल्लो बेला प्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रीत गरि कोरोना परिक्षणलाई तिव्रता दिन निर्देशन दिएका हुन ।
मुख्यमन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्धार गरि जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरुबाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परिक्षणलाई तिव्रता दिन जरुरी रहेको बताए । कोरोना परिक्षणका लागि आवश्यक र्यापिड टेस्ट कीट लगायतका सामाग्रिको तत्काल आपुर्ती व्यवस्था मिलाउन मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका हुन ।
संघीय सरकारबाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपुर्ती हुन नसक्ने अवस्थामा खरिद गरेर भएपनि परिक्षणका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
कोरोनाको जोखिम क्षेत्र पुर्वी तराई र भारतबाट भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्री शाहीले आग्रह गरे ।
कोरोना परिक्षण तथा नियन्त्रण कार्यका लागि सम्बन्धित स्थानीयतहका प्रमुखको संयोजकत्वमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंसेवकहरुको एकिकृत प्रतिकार्य समुह निर्माण गरि परिचालन गर्नु पर्नेमा जोड दिए । स्वास्थ्यकर्मी सहितको एकिकृत समुहले स्थानीयतहमा रहेका क्वारेन्टाईन र कोरोना भाईरसको सम्भावित संक्रमितहरुमा कोरोना परिक्षण, परामर्श तथा स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाउनु पर्ने समेत उनको भनाई थियो ।
शनिवार सम्पन्न प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले कामको सिलसिलामा कर्णाली प्रदेशमा अस्थायी बसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा र आफनो घर फर्कन चाहने विद्यार्थी, मजदुर लगायतका नागरिकलाई सम्वन्धित प्रदेश, जिल्ला, सुरक्षा निकाय र स्थानीयतहको समन्वयमा घर फर्कन दिने निर्णय गरेको छ ।