होमपेज / समाज
सुर्खेत । कोरोना भाइरस कोभिड १९ का कारण डोल्पाका पाटन सुनसान देखिएका छन् । कोरोना संक्रमणलाई मध्ये नजर गर्दै नेपाल सरकारले लगाएको देशव्यापी लकडाउनका कारण जाजरकोट–डोल्पा सडक झन्डै एक महिनादेखि सुनसान छ । लकडाउनका कारण सवारीसाधन फाट्टफुट्ट चल्छन् भने पैदल यात्रीको आउजाउ पनि पातलो छ । कोरोना भाइरस संक्रमणका कारण यस वर्ष यार्सा संकलन नखुल्दा पनि सडक सुनसान बनेको हो ।
डोल्पाका पाटनहरूमा बसेनी वैशाख देखि असारसम्म यार्सा टिप्ने चटारो हुन्छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका हजारौं बासिन्दा यार्सा संकलन गर्न जान्छन् । यस बर्ष पाटन नखुलेका कारण पैदल यात्री पनि खासै नहिँड्ने गरेको डोल्पाका जेभि रोकायाले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल यार्सा संकलन खुला नगर्ने निर्णय गरिसकेको छ ।
सरोकारवालासँगको समन्वय तथा छलफल पछि यार्सा संकलनका लागि पाटन नखोल्ने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । ‘कोरोनाको त्रास फैलिरहेका बेला धेरै मान्छे जम्मा हुँदा ठूलो जोखिम हुने निष्कर्ष सहित यार्सा संकलन नखुलाउने निर्णय भएको उनको भनाइ छ ।