होमपेज / समाज
काठमाडौँ । कोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला विभिन्न विश्वविद्यालय तथा कलेजहरुले भर्चुअल कक्षा शुरु गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे कतिपय सकायका कक्षाहरु भर्चुअल माध्यमबाट भइरहेका छन् । शिक्षा सकायका सहायक डिन तथा अग्रेजी विषयका उपप्राध्यापक बिष्णुकुमार खड्काले विश्वविद्यालयका पदाधिकारीहरुकाे बैठक तथा विभिन्न अागिक क्याम्पसहरुसँगकाे बैठक भर्चुअल माध्यमबाट लकडाउन शुरु भएदेखि नै भइरहेकाे बताउनुभयाे । साथै उहाँले कतिपय विषयका कक्षाहरु पनि भर्चुअल माध्यमबाट भइरहेकाे जानकारी दिनुभयाे ।
विद्यार्थीहरु भएका सबै ठाउँमा इन्टरनेटकाे पहुँच नभएका कारण अलि कठिन भए पनि पहुँच भएकाहरुसँग भर्चुअल माध्यमबाट अध्ययन अध्यापन हुने र अन्यका लागि पनि कुनै वैकल्पिक विधि अपनाइने बताउँदै सहायक डिन खड्काले अहिलेकाे प्रविधिकाे समयमा भर्चुअल कक्षा अनिवार्य समेत भएकाे बताउनुभयाे ।
भर्चुअल माध्यमबाट कान्तिपुर सिटी कलेजमा पनि अध्यापन
कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् । सो कलेजका प्रधानाध्यापक राजु कट्टेलले आफ्ना शिक्षक र विद्यार्थीले भर्चुअल कक्षाको नयाँ अनुभव गरिरहेको बताए।
कलेजले मास्टर्स अफ कम्प्युटर एप्लिकेसन (एमसिए)को पहिलो र तेस्रो सेमेस्टर, मास्टर अफ आर्ट्स् इन मास कम्युनिकेसन एन्ड जर्नलिज्म (एमएएमसिजे)को पहिलो र तेस्रो सेमेस्टर तथा पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (पिजिडिसिए) पहिलो सेमेस्टरको कक्षा अनलाइन विधिमा शुरु गरेको हो ।