होमपेज / समाज
सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले विपन्न एवंम मजदुरवर्ग बेखर्ची भएमा राहतका लागि १०१ डायल गर्न अनुराेध गर्नुभएकाे छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले दोश्रो चरणको राहत वितरण कार्यकाे शुभारम्भ गर्दै कार्यवाहक नगर प्रमुख ढकालले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले राहतका लागि नाम टिपाएका व्यक्तिहरुको घरदैलोसम्म वडा कार्यालयको समन्वयमा पुगी नगर कार्यपालिकाको कार्यालयका कर्मचारीहरुको निरीक्षण टोलीले दिएको प्रतिवेदनका आधारमा एकीकृत केन्द्रबाट राहत वितरण गरिने बताउनु भयाे । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संम्भावित संक्रमणबाट नगरबासीलाई जोगाउन नगरपालिकाको सम्पूर्ण साधन स्रोतको परिचालन गर्न कुनै कसर बाँकी नराखेको ढकालकाे भनाइ छ ।
‘संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्दै नगरपालिकाले वीरेन्द्रनगरमा रहेका अति विपन्न, मजदुरी गरी खाने र विद्यार्थीहरुका लागि पहिलो चरणमा करिब १५ हजार परिवारलाइ राहत वितरण, कोरोना भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि उपत्यकाका वडाहरुमा औषधि छर्ने, लकडाउनलाइ व्यवस्थित र प्रभावकारी बनाउनजनचेतना जगाउने लगायतका विभिन्न गतिविधिहरु अगाडी बढाइसकेकाे छ ।
लकडाउनलाइ प्रभावकारी बनाउन वीरेन्द्रनगरभित्र अन्यन्त्रबाट आएका व्यक्तिहरुलाइ नगरपालिकाले सहयोग एवंम उद्दार गरी गन्तव्य स्थलसम्म पुग्न सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनुभयाे । वीरेन्द्रनगरमै बसोबास गर्ने तर बाह्य जिल्लाबाट लकडाउनको समयमा वीरेन्द्रनगरमा प्रवेश गरेका व्यक्तिहरुका लागि आश्रयस्थल एवम् पूर्वसावधानी गृह समेत नगरपालिकाले स्थापना गरी मिति २०७७ बैशाख ७ गतेदेखि सञ्चालनमा ल्याएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका स्थायी बासिन्दाहरु लकडाउनका कारण अन्यत्र कतै अलपत्र परेको भएमा उद्दारका लागि आफन्त वा एकाघरका परिवारले नगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन नगरपालिकाले सबैमा अनुरोध गरेकाे छ ।