होमपेज / समाज
सुर्खेत । कोरोना भाइरसले विश्व नै दु:खमा परेकाे वेला नेपाल पनि यसकाे शिकार भइरहेकाे छ । नेपालमा काेराेना भाइरसकाे संक्रमण फैलिन नदिँन सरकारले गएकाे वर्ष चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण यातायात, ब्यापारलगायत सबै कार्य ठप्प छ । सरकारले लकडाउनमा सबै नागरिकलाई अनिवार्य घरमै बसेर कोरोना रोकथाममा साथ दिन आग्रह गरेको छ ।
सबै व्यक्तिकाे यस्ताे दु:खद् क्षणमा सहयाेगी मन भएकाहरुले अाफुले सकेकाे सहयाेग गर्ने कार्य बढीरहेकाे छ । देउती नागरिक यातायात प्रा.लि. सुर्खेतका अध्यक्ष कमल खड्का ‘जुनी’ले लकडाउनका कारण व्यवसायिले व्यापार गर्न नपाएकाे भन्दै घर भाडामा छुट दिएका छन् । वीरेन्द्रनगर–४ यरिचोकमा रहेको केवी इन्टरप्राइजेजका चार ओटा सटरहरूकाे चैत्र महिनाको ४० हजार भाडा नलिने घोषणा गरेका हुन् ।
विभिन्न व्यवसाय गरिरहेका वीरेन्द्रकुमार बडुवाल, दक्तबहादुर शाही, देमा मगर र कमल रसायलीबाट भाडा नलिने घोषणा गरेको केवी इन्टरप्राइजेजका सञ्चालक खड्काले जानकारी दिए । उनले प्रति सटर मासिक १० हजार भाडा बुझ्दै आएका थिए । ‘लकडाउनले सबै बन्द छन्, यस्तो कठिन अवस्थामा उहाँहरुबाट भाडा नलिने घोषणा गरेको हुँ’ देउती नागरिकका अध्यक्ष समेत रहेका सञ्चालक खड्काले भने, ‘विश्व नै कोरोनाका कारण आजित बनेको बेला मैले भाडा लिनु उपयुक्त हुने नदेखिएकाले भाडा छुट गरेको हुँ ।’
यसैबीच खड्काले सुर्खेत शिक्षा क्याम्पसको होस्टेलमा बस्दै आएका ३१ जना विद्यार्थीहरुलाई पाँच बोरा चामल, दाल र तेल पनि सहयोग गरेका छन् ।