होमपेज / समाज
सुर्खेत । नव वर्ष २०७७ सालको पावन अवसरमा कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शुभकामना सन्देश दिनुभएकाे छ । प्रदेश प्रमुख कलाैनीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।
साथै उहाँले विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट आफू जोगिई मुलुकलाई जोगाउन सामाजिक दुरी कायम गर्दै विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार, प्रदेश सरकारहरु र स्थानीय सरकारहरुले आधिकारिक रूपमा जारी गरेका निर्देशनहरुलाई पालना गर्न सबैमा अनुरोध गर्नुभएकाे छ।
वि.सं. २०७७ सालको प्रारम्भसंँगै कोरोना भाइरसको अन्त्य भई समग्र विश्वले मुक्ति पाओस् भनि कामना गर्दै प्रदेश प्रमुख कलाैनीले कोरोना विरुद्धको महाअभियानमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, तीनै तहका सरकारका अङ्गहरु, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सामाजिक सङ्घ संस्था उद्याेगी व्यवसायीलगायत सबैको प्रयासको उच्च मूल्याङ्कन गर्नुभएकाे छ ।
वि.सं. २०७६ सालमा मुलुकले हाँसिल गरेका उपलब्धिलाई सुदृढिकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहि “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्नमा वि.सं. २०७७ साल सफल हुनेमा विश्वास लिनुभएका प्रदेश प्रमुख कलाैनीले नयाँ वर्षको अवसरमा सबै कर्णालीबासी एवम् सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा उच्च मनोवलका साथ अगाडि बढ्न आह्वान गर्नुभएकाे छ ।