ट्रेण्डिङ

होमपेज / समाज

एनसेलले टुंग्यायो कर विवाद

नेपालगाथा २०७६ चैत्र ३० गते आइतबार २०:३०:२१ मा प्रकाशित

 काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आइतबार आफ्नो कर विवाद छिनोफानो गर्‍यो । यो संयोग मात्रै हुनसक्छ कि एनसेलको पुँजीगत लभाकर विवाद ठीक चार वर्षअघि सुरु भएको थियो । २०७२ चैत २९ मा एनसेलको सेयर स्वामित्व खरिदविक्री भएपछि उब्जिएको कर विवाद २०७६ चैत ३० गते अन्त्य हुन पुगेको छ । एनसेलले पुँजीगत लाभकर बापत तिर्नुपर्ने सम्पूर्ण रकम सरकारलाई चुक्ता गरेसँगै कर प्रकरणको सबै विवाद टुंगो लागेको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए ।

युरोपेली कम्पनी टेलियासोनेराले एक्जियटालाई एनसेलको सेयर स्वामित्व हस्तान्तरण गर्दा पुँजीगत लाभकर तिर्न बाँकी थियो । लामो रस्साकस्सी पछि विवाद सर्वोच्च अदालत पुग्यो । अदालतले अन्तिम सुनुवाई गर्दै गत मंसिर ५ गते कर विवाद टुंगो लगायो । त्यसकै आधारमा ठूला करदाता कार्यालयले अदालतको फैसला अनुरुप मंसिर १९ गते एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९५५ रुपैयाँ तिर्नुपर्ने गरी कर निर्धारण गरेको थियो ।

विवादकै बीच आंशिक रुपमा लाभकर तिर्दै आएको एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर बुझाएर यो प्रकरणको अन्त्य गरेको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले योसँगै कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ बुझाएको छ । अब एनसेलले सरकारलाई नियमित कर र रोयल्टीमात्र बुझाउने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top