ट्रेण्डिङ

होमपेज / समाज

क्वारेन्टाइनबाट १८३ घर फर्किए

सबैको रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७६ चैत्र २९ गते शनिबार १६:४३:११ मा प्रकाशित

सुर्खेत । सुर्खेतको खुल्‍लामञ्चको क्वारेन्टाइनमा रहेका १८३ जना व्यक्ति घर फर्किएका छन्। भारतबाट आएका कर्णालीका १८८ जनालाई खुल्‍लामञ्चको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका १८३ जनाको पिसिआर रिपोर्ट नेगटिभ आएको छ भने पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले कर्णाली सरकारको समग्र व्यवस्थापनमा क्वारेन्टाईनमा रहेकाहरु १४ दिन पूरा गरी घर फर्किन लागेको बताए। वाग्लेले क्वारेन्टाइनमा रहेकाहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएकोसमेत जानकारी दिए। 

‘यहाँ क्वारेन्टाईनमा रहेका १ सय ८८ जना मध्ये १ सय ८३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ, ५ जनाको आउन बाँकी रहेको छ, यो पनि छिट्टै आउनेछ’, उनले भने, ‘रिपोर्ट पनि नेगेटिभ आएको छ, क्वारेन्टाईनको १४ दिनको अवधि पनि सकिएको छ, त्यसकारण उनीहरुलाई घर पठाउन लागिएको हाे।’ उनले पाँच जनाको रिपाेर्ट आउनेबित्तिकै उनीहरुलाई घर पठाइने बताए। क्वारेन्टाइनमा बसेर घर जानेहरुलाई घरमा पनि अनिवार्य एक हप्ता होम क्वारेन्टाईनमा बस्नुपर्ने उनले बताए।

‘१४ दिन क्वारेन्टाईनमा बसेकाहरुलाई यहाँबाट बिदा गर्दा पनि घरमा ७ दिन अनिवार्य होम क्वारेन्टाईनमा बस्ने गरी हस्ततक्षर गराएर पठाएका छौ । स्वास्थ्यमा कुनै समस्या देखिए छिट्टै स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनेका  छौं’ उनले भने।  क्वारेन्टाईनमा बसेकाहरुका लागि घर पुर्‍याउन यातायातको साधनको पनि प्रदेश सरकारले नै प्रवन्ध मिलाईदिएको छ। घर पुर्याउनका लागि जुम्लाका लागि एउटा गाडी, दैलेखका लागि २ वटा गाडी र जाजरकोटसम्म का लागि १  वटा गाडी र सुर्खेत पश्चिमका लागि एउटा गाडीको व्यवस्था गरिएको छ।

शुक्रबार नै सुर्खेत जिल्लाका नजिकका १७ जनालाई घर पठाईसकिएको थियो। गाडीमा पठाउनेहरुमा २० जना जाजरकोटका, १९ जना पूर्वी सुर्खेतका, पश्चिम सुर्खेतका १० जना, दैलेखका ८७ जना, कालिकोटका ७ जना, जुम्लाका १६ जना र अछामका एक जना रहेका छन्। क्वारेन्टाईनमा रहेका १ सय ८८ जना मध्ये १ सय ७९ जना पुरुष र ९ जना  महिला रहेका थिए। क्वारेन्टाईनमा बसेर घर जादाँ ढुक्क भएको क्वारेन्टाईन पछि घर जादै गरेकाले बताएका छन्। उनीहरुले धेरै कुरा सिक्न पाएको र सरकारको काम राम्रो भएको भन्दै प्रशंसासमेत गरे। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top