होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित देउती नागरिक यातायात प्रालीले लकडाउनलाई ध्यानमा राख्दै राहत वितरण गरेको छ । बिहीबार नेपाल पत्रकार महासंघ सुर्खेत शाखा मार्फत सुर्खेतमा कार्यरत श्रमजीवि पत्रकारहरुको लागि राहत वितरण गरेको हो । पत्रकारहरुको लागि २५ केजी तौल भएका ३१ बोरा चामल, डेढ क्वीन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नुन प्रदान गरेको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए । यातायात प्रा.लि.ले महासंघलाई गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरसको यो त्रासको वातावरणमा राज्यले गर्नुपर्ने काम यातायात प्रालिले गरेकोकाम प्रशंसनीय भएको बताए । साथै उक्त राहत श्रमजीवि पत्रकार जसलाई अति आवश्यक परेको छ उहाँहरुलाई वितरण गरिने अध्यक्ष भारतीको भनाई छ ।
आफ्ना कर्मचारीलाई भत्ता तथा राहत
यस्तै यातायत प्रालिले आफ्ना कर्मचारीलाई पनि राहत वितरण गरेको छ । २० जना कर्मचारीहरुका लागि प्रति कर्मचारी नगद १५ सय नगद तथा ५० किलो चामल, ५ केजी दाल सहित १ केजी नुन र १ लिटर तेल राहत वितरण गरेको छ । राहत वितरण गर्दै देउती नागरिकका अध्यक्ष कमल खड्का ‘जुनी’ले लकडाउनको वेला संस्थामा आवद्ध कर्मचारीहरुको आर्थिक स्थितिले भोकै बस्न नपरोस् भनी राहत वितरण गरेको बताए । काम गर्ने कर्मचारीको मनोबल उच्च रहने र समस्या परेको बेलामा कम्पनी सधैं कर्मचारीको साथमा रहेको सन्देश दिनका लागि समेत राहत वितरण गरेको उनको भनाई छ ।
यातायात प्रालि स्थापनाकाल देखि नै पत्रकारको योगदान उच्च रहेकाले महासंघको समन्वयमा पत्रकारलाई केही हदसम्म समस्या समाधान होस् भन्ने अभिप्रायले राहत हस्तान्तरण गरेको उनको भनाई छ । स्थानीय गोरे थारु, सिता थारु, रामबहादुर थारु, प्रदिप वादी, मुस्तकिम अन्सारी, अपांगता भएका अर्का एक अशक्त व्यक्तिलाई १ कठ्ठा चामल २ केजी दाल र नुन तेल राहत वितरण गरेको देउती नागरिकका सचिव रमेश खड्काले जानकारी दिए ।