होमपेज / समाज
हस्त बुढा, जुम्ला । जुम्लामा किसानले कालिमार्सी धानकाे बीउ राख्न शुरू गरेका छन। सरकारले काेभिड १९ काे संक्रमण फैलिन नदिन देशभर लकडाउन गरे पनि लकडाउनकाे समयमै कालीमार्सीकाे बीउ राखिएकाे हाे। जुम्ला सदरमुकाम खलङ्गा बजारमा लकडाउनकाे प्रभाव परेपनि गाउँतिर भने प्रभाव परेको छैन ।
जुम्ली किसानहरु कृषि क्यालेन्डर अनुसार धमाधम बिहीबार बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेका छन् । जुम्ली कालिमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको किसान पिथ्वि बुढाले बताए ।
‘पम्परागत रिति अनुसार “चैतकाे १२ गते घर नपुग्या जुम्लि मर्याे भनी जान्नु,जुम्ली भनाइ, अर्थात् विभिन्न कामको सिलसिला र रोजगारीको लागि जिल्ला बाहिर गएका व्यक्तिहरु अनिवार्य रुपमा मार्सी धानको बीउ भिजाउने बेला घर पुग्नै पर्ने चलन थियो । भने, ‘पहिले पहिले चैत १२ गते घर नपुग्नेहरुको किरिया समेत गर्ने चलन रहेकाे । उनले सुनाए,
चैतपछि गर्मीले औलो लागेर जुम्लीहरु मर्थे तर अहिले परिस्थिति फेरिएको छ ।’ बीउ राख्नकै लागि भनेर कामको सिलसिलामा भारत गएकाहरु पनि चैतको ५/६ गते नै जुम्ला फर्किने लर्को लागेको बुढाकाे भनाइ छ ।
बीउ राख्नकै लागि भनेर समयमै घर फर्किएको ताताेपानि गाउँ पालिका ३ का स्थानीय रमेश कार्किले बताए । ‘म त अलि अगाडि घर फर्किएर बीउ भिजाउने समय पाएँ,’ उनले भने, ‘तर पछि आउने साथीहरु कोही अहिले क्वारेन्टाइनमा बसिरहेका छन् त कोही सिधै घरमा आएर आज बीउ बेर्नामा छर्किंदै छन् ।’
जुम्लाका आठ वटै स्थानीय तहमा कालि मार्सिधानकाे खेती हुन्छ । काेभिड १९ काे त्रास भए पनि अधिकांश किसान त्यसको बेवास्ता गर्दै खेतमा जम्मा हुन थालेका छन् । बिहानै बीउ छर्केर विसुवा पर्व मनाइरहेका छन् । विसुवामा जुम्लाका किसानले धानको बीउ बेर्नाका लागि राखेका छन् ।
पहिला देखिनै विसुवा पर्वमा जुम्लीहरुले कालिमार्सी धानको बीउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय वीर बुढाले बताए ।
‘विक्रम संवत् ११९८ सालदेखि चन्दननाथ बाबा र लछालकृति पैकलाले लाछु जिउलाेकाे गुरु फाेक्टाेमा कालिमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विसुवा पर्व मनाउने चलन छ,’ उनले भने, ‘परम्परादेखि नै देखिनै चलिअाएकाे चलन छ ।’ यसलाई स्थानीय पर्वको रुपमा लिइन्छ ।
धान खेतीको चक्र चैत महिनाको १२ गतेबाट सुरु हुने र चैतमा बेर्नाका लागि बीउ राखी जेठ असारमा रोपिने कृषि विकास कार्यालयका सुचना अधिकारी खेमराज शाहीले जानकारी दिए । ‘जिल्लाभरि एकै दिन छर्किने गरिन्छ,’ उनले भने, ‘ढिलो भए ६ महिने धानको चक्र नै बिग्रन्छ । वैज्ञानिक हिसाबले पनि आजको दिन बीउ बेर्नामा राख्नै पर्छ ।’
जिल्लामा यो वर्ष २ हजार ८ सय हेक्टरमा धान खेती हुने लक्ष्य रहेको कृषि विकास कार्यालयले जनाएको छ । जुम्लामा ५ हजार ६ सय मेट्रिक टन धान उत्पादन हुन्छ । घरपरिवारले टीकाटाला गरेर बेर्ना बीउ छर्न जाने गरेको स्थानीय विरबहादुर शाहिले बताए । ‘आजको दिनलाई सामाजिक पर्वको रुपमा लिइन्छ,’ उनले भने, ‘पहिले पहिले महिलाहरुलाई अघि पछि निकै काममा खटिनु पर्ने भएकोले विसुवालाई माइत बिसाउनी समेत भनिथ्यो ।’
चैत महिनादेखि कामको सिजन हुने भएकोले यहाँका छोरी चेलीले माइत जान पाउँदैनन् । छोरी चेलीहरुले खोलाको छेउमा र ज्युलाको कुनामा गएर देउडा लगाउने परम्परागत मान्यता छ ।
एकआपसमा रमाइलो गरी सुखदुःख साट्ने गर्दछन् । काेभिड १९ काे कारण जिल्ला लकडाउनको समय भएकाले अहिले बीउ मात्र राख्न थालेका छन् ।